जनकपुरधाम, वैशाख ९ गते ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समावेशी मूल्य संरक्षण गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
जनकपुरधाममा स्वतन्त्र युवा प्रजातान्त्रिक संघद्वारा आयोजित ‘नेपालको समृद्धिमा भारतको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । उहाँले लोकतन्त्रको सार सबै जातजाति, भाषा, लिङ्ग र क्षेत्रका नागरिकको सहभागिताबाट मात्र सम्भव हुने बताउनुभयो ।
“देश अहिले लोकतान्त्रिक प्रणालीमा अगाडि बढिरहेको छ, तर यो प्रणाली सफल बनाउन सबैको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नुपर्छ,” डा. यादवले भन्नुभयो, “संविधानले दिएको समावेशी संरचना रक्षा गर्न सके मात्र संघीयता मजबुत हुन्छ ।”
उहाँले परिवर्तनको यात्रामा जनताको बलिदानको कदर गर्दै जनताको भरोसालाई कायम राख्न राज्य संयन्त्र जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार र समावेशी प्रशासनको विकासले मात्र जनविश्वास बढ्ने उहाँको धारणा थियो ।
साथै डा. यादवले विगतमा भारत र भारतीय जनताको सहयोगले नेपालमा लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै अब प्राप्त उपलब्धिको संस्थागत विकासमा लाग्नुपर्ने सुझाव समेत दिनुभयो । उहाँले सबै दलहरूलाई राष्ट्रिय मुद्दामा एकजुट हुन आग्रह गर्दै चुरे दोहन रोक्न र कृषिको संरक्षणमा साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गोष्ठीमा अन्य वक्ताहरूले पनि समावेशी दृष्टिकोणबाट विकास र नीति निर्माण हुनुपर्नेमा जोड दिएका थिए।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल–भारत सम्बन्धलाई ‘रोटी–बेटी’को सम्बन्धको संज्ञा दिँदै भारतको भूमिकामाथि प्रश्न उठाउनु अघि नेपालले आफ्नो भूमिका स्पष्ट गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भारतसँगको सम्बन्ध सुदृढ गर्न नीति परिमार्जन आवश्यक रहेको बताउनुभयो । उहाँले भारतीय पर्यटकका लागि सहज नीति आवश्यक रहेको, साथै भारतद्वारा दिइने छात्रवृत्तिमा मधेशी समुदायका लागि आरक्षण सुनिश्चित गर्नुपर्ने माग समेत राख्नुभयो ।
यसैगरी सभामुख रामचन्द्र मण्डलले भारतको आर्थिक सहयोग सराहनीय भए पनि राजनीतिक हस्तक्षेपले जटिलता सिर्जना गरेको उल्लेख गर्नुभयो ।
भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत देवी सहाय मिणाले भारत नेपालकै सबैभन्दा ठूलो विकास साझेदार भएको बताउनुभयो । उहाँले अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनका लागि छलफल भइरहेको जानकारी पनि दिनुभयो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अरविन्द महतोले गर्नुभएको थियो भने अनय वक्ताहरूले पनि नेपाल–भारत सम्बन्ध सम्मान, सहकार्य र विश्वासमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।









तपाईको प्रतिक्रिया