मिथिला पर्वै पर्वको समाजमा छठको स्थान सबैभन्दा विशिष्ट श्रेणिमा राखिएको छ । सबै जात वर्ण, समुदायले छैठ पर्व मनाउने गरेका छन् । छठ पर्वमा न लिङ भेद न धर्म भेद, न भाषाभेद न जातीय भेद देखिन्छ । त्यसै भएर त मिथिला क्षेत्रका मुस्लिम समुदायले पनि छैठका लागि अर्घ दिने गरेका छन् । मिथिलामा जो बस्यो, छठको महिमालाई स्वीकार गरी मनाउन थाले । सूर्य पुराणमा उल्लेख भए बमोजिम छैठ पर्व कात्र्तिक शुक्ल षष्ठीका दिन मनाईने गरिन्छ । बिभिन्न वेद पुराण तथा गैन्थहरुमा बिभिन्न प्रकारका छैठ पर्वको महत्वबारे उल्लेख गरिएको भएपनि त्रेतायुगमा अत्री ऋषिकी पत्नी सती अनसुईयाले सर्वप्रथम छठ पर्वको अनुष्ठान गरेकि थिईन् । छैठ पर्वबारे अन्य बिभिन्न लोकोक्तिहरु प्नि पाईन्छ ।
चारदिनसम्म मनाईने यो पर्वको पहिलो दिनलाई नुहाउने धुने दिन भनिन्छ । पहिलो दिन व्रती महिलाले नुहाई धोई गरेर असिद्ध अन्न ग्रहण गर्ने गर्छिन् । दोस्रो दिन पञ्चमी तिथिमा खरना पर्छ । दिन भरि निराहार बसेर व्रतालु महिलाले खीर बनाई चन्द्रमालाई अपर्ण गरेर प्रसादको रुपमा खीर ग्रहण गरेपछि छठ पर्वका लागि उपबास बस्न सुरु गर्ने गरिन्छ । पञ्चमी तिथिदेखि सप्तमी सम्म निराहार बस्नुपर्ने भएकोले छठ पर्वलाई कठोर पर्वको रुपमा लिईने गरिएको छ । निराहार बस्ने तीनदिनसम्म व्रतालुले पानी पनि खान नहुने हुनु र पर्वमा प्रसादका लागि तयार गरिने सामग्रि समेत छुट्टै माटोको चुल्होमा बनाउनुपर्ने भएकोले छैठलाई निष्ठाको पर्व समेत भनिएको हो । खरनाको रातिबाट नै मिथिला क्षेत्रमा सामा चकेवा पर्वको उद्घोष हुने गरेको छ ।
षष्ठीको बिहानैदेखि छैठ पर्वमा प्रसादका लागि ठकवा, भुसवा तयार गरिन्छ । साथै मूला, भान्टा, आदी लगायतका तरकारीजन्य वस्तु समेत प्रसादको रुपमा राखन्ने चलन छ । प्रसादलाई बाँसले तयार गरिएको परम्परागत् ढाकीमा राखिन्छ । षष्ठीको साँझ व्रतालु महिलाले घर नजिकको पोखरी, तलाउ, नदीमा गएर सूर्यको अर्घ दिएपछि छठको तेस्रो दिन सम्पन्न हुन्छ । अचेल नेपालको मिथिला क्षेत्र लगायत भारतको बिहार राज्यको पटना, मुज्जफरपुर जस्ता शहरमा समेत राति छैठ पर्व मनाउने परिवारजनले नदी, पोखरीको डिलमा रात बिताउने परम्पराले गर्दा छैठको रौनक झन थपिएको छ ।
सप्तमीको बिहानैपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छैठको समापन हुन्छ । सप्तमीको दिनलाई पावर्ण समेत भनिन्छ । यद्दपी सप्तमीको बिहान सूर्यलाई अर्घ दिएपनि छैठ पर्वबारेको कथा व्रतालु महिलाले परिवारजन तथा डिलमा भेला भएका सर्वसधारणलाई सुनाउने परम्परा समेत रहेको छ । यसरी छैठ पर्व सम्पन्न हुने गरेको छ । छठ पर्व गर्दा निसन्तान हुनेले सन्तान पाउने, रोगबाट ग्रसित भएकाहरुको रोग निको हुने तथा कुष्ठ तथा चर्म रोग समेत निको हुने विश्वास अझै कायम रहेको छ ।
यसैबीच छठ पर्वकै अबसर पारेर जनकपुरको तलाउहरु संगारिएको छ ।
जनकपुरको गंगासागर, धनुष सागर, अरगज्जा पोखरी, अग्निकुण्ड, बिहारकुण्ड, दशरथ तलाउ, ज्ञानकूप तलाउ लगायतमा बिहानैदेखि सरसज्जा गरेर छ्रैठ मनाउने परिवारजनको घुँईचो लागेको छ । मिथिलामा धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा लगायतका जिल्लामा दिनप्रतिदिन छ्रैठको रौनक बढ्दै गएको छ । धनुषाको भगवतीपुर, कुम्हरौडा, बिन्धी, बसहिया लगायतका स्थानमा सयौं घरपरिवारका ब्यक्तिले सामूहिक रुपमै छैठ पर्व मनाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया