काठमाडौं : युरोपियन फुटबल संघ (युईएफए) ले च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरु सञ्चालन हुने स्थान पक्का गरेको छ ।
कोभिडका कारण स्पेन, जर्मनीलगायतका मुलुकले यात्रामा प्रतिबन्ध लगाएका कारण केही खेलहरु ‘न्यूट्रल भेन्यू’ तर्फ सारिएको छ । युईएफएका अनुसार स्पेनी क्लब एथलेटिको म्याड्रिड र प्रिमियर लिग क्लब चेल्सीबीचको खेल रोमानियाको राजधानी बुकारेस्टमा आउँदो फेब्रुअरी २३ मा खेलाइनेछ । स्पेनले इंगल्यान्डबाट आउने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि च्याम्पियन्स लिग खेल सारिएको हो ।
पूर्वतालिका अनुसार खेल एथलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोटिानो रंगशालामा हुने थियो । दोस्रो लेगको खेल भने चेल्सीको स्टाम्फोर्ड ब्रिजमै हुनेछ ।
त्यस्तै इंगल्यान्डकै म्यानचेस्टर सिटी पनि च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनल खेल्न तटस्थ मैदान पुग्नेछ । सिटीको बोरुसिया मन्चुनग्लाडबागसँगको खेल फेब्रुअरी २४ मा बुडापेस्टको पुस्कास ऐरेनामा सञ्चालन हुनेछ । लिभरपुल र अर्को जमृन प्रतिद्वन्द्वी आरबी लाइपजिगबीचको खेल पनि बुडापेस्टको पुस्कास ऐरेनामै हुनेछ ।
लाइपजिगको घरेलु रेडबुल ऐरेनामा हुने भनिएको खेल फेब्रुअरी १६ मा हंगेरीको राजधानीतर्फ सारिएको हो । जर्मनीले बेलायतबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि अन्तिम १६ को पहिलो लेगको खेल स्थान्तरण गरिएको हो ।
त्यसैगरी युरोपा लिगका केही खेलहरु पनि न्यूट्रल भेन्यूतर्फ सारिएको छ । पोर्चुगिज क्लब बेनफिका र आर्सनलबीचको खेल इटालीको रोममा हुनेछ । युरोपियन क्लब फुटबलमा दोस्रो श्रेणीको लिग मानिने युरोपाको अन्तिम ३२ को पहिलो लेगको खेलमा बेनफिका र आर्सनल फेब्रुअरी १८ मा रोमको ओलम्पिक रंगशालामा आमनेसामने हुनेछ ।
पोर्चुगल पुगेर फर्कने बेलायतीले अनिवार्यरुपमा १० दिन आइसोलेसनमा रहनुपर्ने भएपछि बेनफिका र आर्सनलबीचको खेल रोममा सञ्चालन गरिने भएको हो । म्यानचेस्टर युनाइटेड भने स्पेनी क्लब रियल सोसिडाडको चुनौति सामना गर्न इटालीकै टुरिन पुग्नेछ ।
युभेन्टसको घरेलु मैदानमा हुने सो खेल फेब्रुअरी १८ मा खेलाइनेछ । युरोपा लिगकै मोल्डे र होफनहाइनबीचको खेल स्पेनको भिल्लारियलमा हुनेछ । स्विडीस मोल्डे र जर्मन टोलीबीचको खेल स्पेनी क्लब भिल्लारियलको घरेलु मैदान एस्टाडियो डे ला सेरामिकामा फेब्रुअरी १८ मा खेलाइने जनाइएको छ ।
प्रकाशित :२९ माघ, २०७७
तपाईको प्रतिक्रिया