जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदकी नेकपा एमाले उम्मेदवार जुली कुमारी महतोले ‘परिवर्तन’को नारा दिएर मतदाता भ्रमित पार्ने प्रयास भइरहेको आरोप लगाएकी छन् । जनकपुरधाम–३ मा घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ–पुरानोको बहस उठाएर परिवर्तनको वाचा गर्नु जनतालाई बरगलाउने रणनीति भएको दाबी गरिन् ।
“पहिले नै सांसद भइसकेका व्यक्तिले फेरि नयाँको नारा दिनु जनतालाई भ्रमित पार्नु हो,” उनले भनिन्, “यहाँका मतदातालाई राम्रोसँग थाहा छ—सांसद बन्नकै लागि परिवर्तनको नारा दिइँदै छ ।”
महतोले धनुषा–३ का मतदाता व्यवस्था परिवर्तनभन्दा विकासका लागि उद्देश्य र कार्यशैलीमा स्पष्टता खोजिरहेको बताइन् । देश विकासका लागि स्पष्ट र व्यवहारिक खाका नेकपा एमालेसँग मात्रै रहेको दाबी गर्दै उनले मतदाताले त्यसलाई विश्वास गरिरहेको उल्लेख गरिन् ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाका समस्या र गुनासा सुन्दै महतोले समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नयाँ दलहरूले ठोस नीति र दीर्घकालीन भिजन बिना पुराना दलहरूप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले एमाले संविधान रक्षा, राजनीतिक स्थिरता र राष्ट्रिय स्वाधीनताको सवालमा निरन्तर संघर्षरत दल रहेको दाबी गरिन् ।
