काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन्।
देउवा निवास बुढानिलकण्ठमा हिजो बेलुका फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेको पार्टीका सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिए। महतका अनुसार हिजो पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सम्पन्न भएपछि दुई देशका राजदूतसँग भेटघाट गरेका हुन्। भेटमा के बिषयमा छलफल भएको हो भन्नेबारे भने सार्वजनिक नभएको महतको भनाइ छ।
नेपालमा राजनीतिक रस्साकस्सी भइरहेका बेला छिमेकी मुलुकका राजदूतहरुले प्रमुख प्रतिपक्षी दलका नेतासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि राजनीतिको केन्द्रमा रहेको कांग्रेससँग नेकपाको प्रचण्ड–माधव पक्षले समेत भेटघाटलाई बाक्लो बनाएको छ भने यही बेला छिमेकी देशका राजदूतहरुले पनि भेट गरेका हुन्।
चीनले प्रतिनिधिसभा विघटन र पुनर्स्थापनाको औपचारिक प्रतिक्रिया दिएको छैन भने भारतले यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ।
तपाईको प्रतिक्रिया