प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् ।
बुधबार दिउँसो २ बजे जनकपुरधाम आएका मिश्रले मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रमुख मिश्रले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।आफू नेपाली काँग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भएपनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए । उनले भने,‘अब म समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन । अब समग्र देशका लागि काम गर्छु ।’
बुधबार जनकपुरधाम आएका मिश्रलाई भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विमानस्थलमा स्वागत गरेका थिए । प्रदेश प्रमुखको गाउँ पिपराका स्थानीयहरु पनि उनको स्वागतमा विमानस्थल पुगेका थिए ।प्रदेश प्रमुख मिश्रको स्वागतको क्रममा विमानस्थलमा अत्यधिक संख्यामा भीड बढेपछि सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।मिश्रलाई सोमबार मन्त्रीपरिषदले गरेको सिफारिशको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । मंगलबार साँझ नै प्रदेश प्रमुख मिश्रले सपथ ग्रहण गरेका थिए ।









तपाईको प्रतिक्रिया