नेकपा (माओवादी केन्द्र) ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ।
शनिवार वडा सम्मेलनमार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो ।
वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र आइतबारसम्म त्यसको विवरण सार्वजनिक हुने उहाँले बताउनुभयो ।
माओवादी केन्द्रले शनिबार देशभर वडा सम्मेलन गरेको थियो। प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र आइतबारसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने ढकालले जानकारी दिनुभयो ।
माओवादीले शनिबार देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो। पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ। यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। यसैबीच माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ।
शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले बताउनुभयो । सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उहाँले जानकारी दिनुभयो ।









तपाईको प्रतिक्रिया