नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन आज (सोमबार ) सुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन आज सुरु हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै सोमबार ६० जिल्लाका १४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुने बताए । सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । उक्त जिल्लाको विवाद समाधानका लागि महामन्त्री डा। शशांक कोइराला र सहमहामन्त्री डा। प्रकाशशरण महतबीच छलफल भएको थियो । आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ । आज केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने छ ।
वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् । आज महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अधिकांश केन्द्रीय नेताहरु गृह जिल्लामा रहेका छन् । यस्तै नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको शुक्रबार सम्पन्न अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम आउने क्रम जारी छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ६० वटामध्ये ४६ जिल्लामा नेतृत्व चयनको प्रक्रिया पूरा भएको बताए ।









तपाईको प्रतिक्रिया