जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मटिहानी नगरपालिका धार्मिक सद्भावको अनुकरणीय नगरी रहेको बताउनु भएको छ ।
मटिहानी रंगशालाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले लक्ष्मीनारायण मठका साथै पिरबाबा र तसमैया बाबा प्रतिको जनआस्थाले मटिहानीलाई धार्मिक सद्भावको अनुकरणीय बनाएको उल्लेख गर्नुभयो ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि विकास निर्माण कार्यले तीब्रता लिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधि विहिनताको अवस्थामा देखिएको सुस्तता अन्त भएको दावी गर्नु भयो ।
तीनै तहका सरकारले अगाडी बढाएको विकास निर्माणको अनुभूति सर्वसाधारणले गर्न थालेको र त्यसकै एउटा उदहरण मटिहानी रंगशाला रहेको उहाँको कथन थियो ।
मानवीय विकास सुचकांकमा पछि परेको प्रदेश २ लाई अगाडी बढाउन महिला शिक्षामाथी जोड दिनु पर्नेमा प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षाका साथै रोजगारीमा समेत महिलाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारको हरेक निकायमा पचास प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितता गरेको उल्लेख गर्नु भयो ।
मटिहानी नपाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षता एवं राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।









तपाईको प्रतिक्रिया