बंगालको खाडीको मध्य पश्चिम भू भागमा शुक्रबार बनेको जवाद नामको सामुन्द्रिक चक्रवात शनिवार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ।
सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ बताइएको छ । यस्तै सो प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।
यता आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
यी मौसमी प्रणालीहरूका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।









तपाईको प्रतिक्रिया