राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।
लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ । पदाधिकारीमा भने थापा पक्षको वर्चस्व छ । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँले दुई हजार ५ सय २१ मत पाएका राप्रपाको निर्वाचन आयोगले जनाएको छ । यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १ हजार ९ सय ४४ मत ल्याएर विजयी हुनु भएको छ भने थापा प्यानलकै ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ मतसहित विजयी हुनु भएको छ ।
महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की विजयी हुनु भएको छ । उहाँले १ हजार ६ सय ८९ मत पाउनु भएको छ । महामन्त्रीको प्रतिस्पर्धामा थापा पक्षकै भुवन पाठक १ हजार ८ सय ५ मतसहित विजयी हुनु भएको छ भने लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २ हजार २ सय २१ मतसहित विजयी हुनु भएको छ ।
यस्तै, महिला महामन्त्रीतर्फ भने कमल थापा समूहकी कुन्ती शाही विजयी हुनु भएको छ । उहाँले दुई हजार ८ मत पाउनु भएको छ । लिङ्देन पक्षकी रेखा थापा भने पराजित हुनु भएको छ । थापाले १ हजार ६ सय ४० मत ल्याउनु भएको छ ।









तपाईको प्रतिक्रिया