अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ। घटनाको केन्टकीका गभर्नरले शनिवार पुष्टि गरेका छन् । केन्टकीका गभर्नर एण्डी बेशरले आँधीले विभिन्न भागमा तहसनहस बनाएको बताए । राज्यको इतिहासमा सबैभन्दा नराम्रो आँधी आएको र मृत्यु हुनेकाे संख्या बढ्दै १ सयसम्म पुग्न सक्ने उनले बताए ।
क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने उनले बताए । मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ । सोही रात इलिनोइ राज्यस्थित अमेजन कम्पनीको गोदाममा हुरीबतास चल्दा करीब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चार माध्यमले बताएका छन् । हुरीबतासका कारण ५० भन्दा बढी व्यक्तिले ज्यान गुमाएको हुनसक्ने गभर्नर बेशरको भनाइ छ । आँधीले पुर्याएको उक्त क्षतिलाई केन्टकीको इतिहासमा ‘गम्भीर तहसनहसको घटना’ भएको उनले बताए ।
आँधीका कारण मेफील्ड शहरमा एउटा मैनबत्ती कारखानाको छाना भत्किएको र ठूलो सङ्ख्यामा क्षति भएको गभर्नर बेशरले बताए । मेफील्डबाट सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीर तथा भिडियोहरूले आँधीले भवनहरू टुक्रा–टुक्रा पारेको देखाइएको छ । आँधीपछि सडकमा फलाम, रूख र इटाका टुक्राहरू छरिएका छन् । अमेरिकी समाचार च्यानलहरूमा सम्प्रेषित दृश्यचित्रहरूमा आँधीले धुलोको कालो मुस्लो जमिनबाट माथिसम्म उडाएको देखाइएको छ ।









तपाईको प्रतिक्रिया