जनकपुरधाम । प्रत्येक वर्षझैं यस वर्ष पनि शहिद पत्रकार उमा सिंहको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शहिद पत्रकार सिंहको १३ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाद्वारा आयोजित “महिला पत्रकारहरुको सुरक्षा तथा चुनौती विषयक” अन्तरक्रिया कार्यक्रममा महासंघकी जिल्लाअध्यक्ष मनिका झा, संघका निवर्तमान अध्यक्ष उमेश साह, आम सञ्चार प्राधिकारणका अध्यक्ष शिवहरि भट्टराई, मिडिया काउन्सिलका अध्यक्ष श्यामसुन्दर यादव लगायत धनुषाका महिला एवं पुरुष सञ्चारकर्मीहरुको सहभागितामा मंगलबार जनकपुरधामस्थित महासंघको हलमा सम्पन्न भएको हो ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा उमा सिंह अक्षय कोषमा २ लाख रुपैयाँ थपेर मनाएको छ । यसैगरी गणेश युवा कमिटीले भने सोही अवसरमा महिला पत्रकारहरुलाई सम्मान गरेको छ । यस्तै जनकपुरियन लेडिजले जानकी मन्दिर परिसरमा पत्रकार सिंहको सम्झनामा दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै मिथिला नगर पत्रकार सञ्जाल ढल्केवरले सोही दिन साँझ ढल्केवरस्थित पार्कमा स्व. सिंहको तस्बिर अगाडि दीप प्रज्वलन गरी स्मृति दिवस मनाएका छन् ।
स्वर्गीय पत्रकार सिंहको २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा बीभत्स हत्या भएको थियो ।
पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा रहेका छन् ।









तपाईको प्रतिक्रिया