काठमाडौं, फागुन १८ । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पार्टीको संघीय परिषद्, केन्द्रीय समितिको बैठक र विधान अधिवेशन गर्ने मिति तोकेपछि हालका लागि बैठक स्थगित गरिएको छ । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई समुहले मंगलवार अध्यक्षीय प्रणालीमाथि छलफल गर्न चाहेका थिए । तर महाशिवरात्रिको कारण स्थगित भएको बैठक अब केन्द्रीय समितिको बैठकपछि मात्रै बस्ने भएको छ । संघीय परिषद् र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डा तयारीका लागि समितिहरु बनाइएकाले कार्यकारिणी समितिको बैठक पछाडि धकेलिएको छ । आवश्यक निर्णयहरु भइसकेकाले तत्काल कार्यकारिणी समितिको बैठक नबस्ने आर्थिक विभाग प्रमुख विजयकुमार यादवले बताए । अध्यक्ष उपेन्द्र यादवलाई घेराबन्दी गर्न भट्टराई समूहले कार्यकारिणी समिति बैठकमा अध्यक्षीय प्रणाली उपर छलफल गर्न चाहेका थिए ।
सांसद प्रदीप यादवलाई पार्टीले गरेको कारवाही फुकुवा हुने र उनी चाँडै मूलधारमा सहभागी हुने भएका छन् ।पर्सा जिल्लामा जसपा भित्रको कलहलाई शान्त गर्न अध्यक्ष यादवले बढी चासो देखाएका छन् । मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा मेयर जितेको जसपाले तीनवटा संघीय सांसद र उतिकै संख्यामा प्रदेश सभासद पर्सामा जितेको थियो । तर पर्सामा अहिले संगठनात्मक संरचना कमजोर भएको छ ।दुई खेमामा विभाजित पर्सा जिल्लामा घर भएका मुख्यमन्त्री लालबाबु राउत निरीह देखिएका छन् । उनी निर्वाचित क्षेत्रमा समेत जसपाको अवस्था धेरै खस्केको बताइन्छ ।









तपाईको प्रतिक्रिया