आज सांस्कृतिक पर्व ग्याल्बो ल्होछार, शेर्पालगायत अन्य हिमाली तथा उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदायले नयाँ वर्षको रुपमा मनाउँदैछन् ।
ग्याल्बो ल्होछार मान्ने समुदायले आज गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ । नेपालमा तोला, तमु, सोनाम र ग्याल्बो गरी चारवटा ल्होछार मनाउने चलन छ । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदामा शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बुधबार बाघ वर्ष शुरु भएको छ । १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले शेर्पा समुदाय प्रकृतिपूजक रहेको पुष्टि हुने संस्कृतिविदहरुको भनाइ छ ।
ग्याल्पो ल्होछारको मुख्य दिन आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । शेर्पा जातिको बसोबास रहेका ठाउँमा आज ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।
यसैबीच सरकारले आज ‘ग्याल्पो ल्होसार’को अवसरमासार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ग्याल्पो ल्होछारको अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो ।









तपाईको प्रतिक्रिया