जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) नेता लालकिशोर साहले विगत चार वर्षमा जनकपुरधामले विकास र समृद्धिको बाटोमा कोल्टे फेरेको मुल्यांकन स्वंयम जनकपुरवासीले नै गर्ने बताएका छन् ।
बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनकपुरधामका निवर्तमान मेयर समेत रहेका साहले जनकपुरधाममा विगतमा नभएको विकास समेत आफ्नो कार्यकालमा भएको बताएका हुन् । उनले सिमित साधन स्रोतकाका वावजुद पनि जनकपुरधामले विकासमा फड्को मारेको दावी समेत गरेका छन् ।
जनकपुरधामका निवर्तमान प्रमुख साहले आफ्नो कार्यकालमा एकीकृत सहरी विकास परियोजना खारेजी हुनबाट जोगाएकै कारण आज जनकपुरधामको फेरिएको मुहार हेर्न पाएको बताएका छन् । लामो समयदेखि विभिन्न बाधा अवरोधका कारण रोकिएका परियोजनालाई निर्वाचित भए लगत्तै सुचारु गराई जनकपुरधामको मुहार फेर्ने प्रयत्न समेत गरको निवर्तमान नगर प्रमुख साहले जानकारी दिए ।
जनकपुरधामका प्रमुख पदका उम्मेदवार समेत रहेका साहले आफ्नो कार्यकालमा दृढ इच्छाशक्तिका वावजुद गर्न नसकेका काम पुरा गर्ने तथा आगामी दिनमा जनकपुरधामलाई आकर्षक एवं आधुनिक शहरको रुपमा रुपान्तरित गर्ने उदेश्यका साथ पुनः उम्मेदवारी दिएको उक्त कार्यक्रम मार्फत जानकारी समेत दिएका छन् ।
कार्यक्रममा जसपाका गठबन्धनका उपप्रमुखका उम्मेदवार किशोरी साह लागायत जसपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया