जनकपुरधाम । धनुषामा करिव ६ हजार उम्मेदवारले निर्धारित समयमा निर्वाचन खर्च बुझाएका छैनन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको खर्च पाँच हजार ९ सय ५३ जना उम्मेदवारले अहिले सम्म बुझाएका छैनन् ।
निर्वाचन आयोगले असार २५ गते सम्म अन्तिम समय निर्धारण गरेको थियो । तर, धनुषामा हाल सम्म चार सय दश जनालेमात्रै निर्वाचन खर्च बुझाएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालयका अनुसार धनुषाको १८ औं स्थानीय तह गरी आठ सय ८१ पदका लागि निर्वाचन भएको थियो । जसको लागि ६ हजार तीन सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएका प्रमुख पदका ३८ जनाले मात्रै निर्वाचन खर्च बुझाएका छन् ।
प्रमुख पदमा खर्च विवरण बुझाएका मध्ये दश जना निर्वाचित प्रमुख÷अध्यक्ष रहेका छन् । आयोगले रुजु नगरिसकेको हुनाले नामसहित विवरण सार्वजनिक गर्न कार्यालयले मानेन् । सबैभन्दा बढी निर्वाचन खर्च विवरण डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बुझाएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति धनुषाको सभापति चयन भएपछि कार्यालयले थप एक महिना समय दिएको थियो । असार ८ गते पुनः पत्रमार्फत उम्मेदवारी दिएका सबैलाई निर्वाचन खर्च बुझाउन पत्राचार गरेका थिए । तर पत्रको वेवास्ता गर्दै उम्मेदवारहरुले खर्च विवरण बुझाउन आलटाल गरिरहेका छन् । सो समयमा नबुझाउने उम्मेदवारलाई आयोगले संघीय कानून बमोजिम कारवाही गर्ने तयारी गरेका छन् ।
‘राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको मितिले तीस दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेश गर्नुपर्ने,’आयोगले जारी गरेको पत्रमा अगाडि लेखिएको छ, ‘दफा २४ बमोजिम हदभन्दा बढी खर्च गर्ने वा दफा २५ बमोजिम तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने निज दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्धारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना हुन सक्ने,’पत्रमा उल्लेख छ । साभार जनकपुर डुडे









तपाईको प्रतिक्रिया