जनकपुरधाम । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुन गइरहेको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह पाएका छन् ।
बुधबार निर्वाचन आयोगले सबै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो । चुनाव चिन्ह पाएपछि उम्मेदवारहरु औपचारिक रुपमै प्रचार प्रसारमा जुटिसकेका छन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि सर्लाहीको निर्वाचन क्षेत्र ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमरेश सिंहले माछा निर्वाचन चिन्ह् पाएका छन् । पाँच दलीय गठबन्धनबाट यो सीट कांग्रेसकै भागमा परेको छ । कांग्रेसले यहाँ कांग्रेस सभापति शेरबहादुर देउवा समूहका नागेन्द्र रायलाई उम्मेदवार बनाएको छ । तर यस अघि ०७४ मा निर्वाचित भएका सिंहलाई भने टिकट दिइएको छैन् । सिंह कांग्रेस नेता शेखर कोइराला समूहका नेता थिए । पर्सा निर्वाचन क्षेत्र १ बाट पनि कांग्रेसका नेता अजय द्विवेदीले पनि बागी भएर स्वतन्त्र उमेदवारी दिएका छन् । उनले पनि माछा चुनाव चिन्ह् नै पाएका छन् । यहाँ पाँच दलीय गठबन्धनबाट लोसपाका लक्ष्मण लाल कर्ण उम्मेदवार छन् ।
यसयघि यहाँ तत्कालिन संघीय समाजवादीबाट प्रदीप यादव निर्वाचित भएका थिए । प्रदीप अहिले एमाले–जसपा गठबन्धनको साझा उम्मेदवार छन् । यस्तै, रौतहट निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिन्ह् पाएका छन् । उनले नेकपा एमालेबाट उम्मेदवारी नदिएर प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् । रौतहटको सबै निर्वाचन क्षेत्रमा प्रभु साह निकटले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पर्सा निर्वाचन क्षेत्र २ को ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएकी करिमा वेगमले ‘बल्ब’ चुनाव चिन्ह् पाएकी छन् । उनलाई जनता समाजवादी पार्टी (जसपाले) टिकट नदिएपछि बागी भएर स्वतन्त्र उम्मेदावरी दर्ता गराएकी छन् ।
सर्लाही निर्वाचन क्षेत्र ३ को ‘ ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता सरोज रायले ‘ लालटेन’ चुनाव चिन्ह् पाएका छन् ।
यस्तै, धनुषा निर्वाचन क्षेत्र ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साहले ‘ चापाकल’ चुनाव चिन्ह् पाएका छन् । एमाले नेतृ जुली महतो र लोसपा नेता अनिल झासँग साहको प्रतिस्पर्धा छ ।
सोही निर्वाचन क्षेत्रको ‘ख’ मा प्रदेशसभातर्फ कांग्रेसबाट बागी भएका स्वतन्त्र उम्मेदवार हरिशंकर साहले टेबुल पंखा चुनाव चिन्ह् पाएका छन् । पाँच दलीय गठबन्धनमा यो सीट लोसपाको भागमा परेको छ । पाँच दलीय गठबन्धनबाट यहाँ लोसपा नेता परमेश्वर साह उम्मेदवार छन् ।
यही ठाउँमा जसपाका धनुषा जिल्ला उपाध्यक्ष अम्भु साहले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले पनि लालटेन निर्वाचन चिन्ह् पाएका छन् ।
लोसपाले टिकट नदिएपछि महोत्तरी निर्वाचन क्षेत्र २ को ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएकी लोसपा नेतृ सुरीता साहले पनि लालटेन निर्वाचन चिन्ह् पाएकी छन् । यो सीट पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेसको भागमा परेपछि साह बागी भएर स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यहाँ कांग्रेसका नागेश्वर राय पाँच दलीय गठबन्धनका साझा उम्मेदवार छन् । साह यसयघि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।









तपाईको प्रतिक्रिया