जनकपुरधाम, फागुन ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कचुरीबाट ‘मिथिला माध्यमिकी परिक्रमा’ मिथिला बिहारीको डोला उठाएपछि परिक्रमा प्रारम्भ भएको छ ।
विश्वकै सबैभन्दा लामो मानिने धार्मिक पदयात्रा ‘मिथिला माध्यमिकी परिक्रमा’ सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ८ स्थित ठेरा कचुरीबाट मुख्यमन्त्री यादवले भगवानको डोला उठाएपछि पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा प्रारम्भ भएको हो ।
उक्त डोला उठाउनुपूर्व मुख्यमन्त्री यादवले विश्वकै लामो धार्मिक पदयात्रा ‘मिथिला माध्यमिकी परिक्रमा’ मा सहभागि हुन पाउँदा अत्यन्तै हर्षित भएको छु, भने । यस पदयात्रालाई अझैं प्रभावकारी बनाउन आगामी दिनमा प्रदेश सरकारले पनि सहयोग गर्ने उनले बताए ।
यस धार्मिक पदयात्रालाई नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीकका रुपमा पनि चिनिन्छ । यस मिथिला माध्यमिकी परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।
फागुन औँसीका दिन धनुषाको कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरधामको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमा विधिवत् रुपमा सुरु हुने परम्परा रहेको छ । परिक्रमामा सहभागीहरु क्रमशः फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।
महोत्तरीको कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा तय गर्छन् ।
परिक्रमामा सहभागीहरुका लागि प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाउने गरेको परिषद्का अध्यक्ष शितल साहले बताए ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापित चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।
फागुन ८ गतेदेखि सुरु भएको उक्त परिक्रमा फागुन २३ गते जनकपुरधाम अन्तगृही परिक्रमा गरेपछि समापन हुनेछ । त्यस लगत्तै जनकपुरधाममा होली पर्व सुरु हुन्छ ।









तपाईको प्रतिक्रिया