जनकपुरधाम, जेठ ३१ गते । बटेश्वर गाउँपालिका अध्यक्षको कार्यप्रति असन्तुष्टि व्यक्त गर्दै पाँच राजनीतिक दलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले मनोमानी ढंगले काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र, एकीकृत समाजवादी (नेकपा यस), जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २० बुँदे मागसहित संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
जनप्रतिनिधिले भ्रष्टाचारलाई प्रोत्साहित गरेको, कांग्रेस कार्यकर्तामुखी बजेट रहेको भन्दै अध्यक्षको स्वेच्छाचारी विरुद्ध राजनीतिक दल आन्दोलित संघर्ष समितिका संयोजक रामप्रबोध महतोको अगुवाईमा पाँच दलले २० बुँदे मागसहित बटेश्वर गाउँपालिकाकी उपाध्याक्ष फुलकुमारी सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।
उक्त ज्ञापन पत्रमा नदीको अवैध दोहन बन्द गर्नुपर्ने, विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक स्थलहरुमा यथासिघ्र शुद्ध खाने पानीको व्यवस्था गर्नुपर्ने, कमिसन खान गैर कानुनी ढंगले भइरहेको खोलाको अवैध उत्खनन बन्द गर्नुपर्ने, सिँचाइको लागि इनार, स्यालोट्यूवेल र डिप बोरिङ्गगलगायत यथासिघ्र संचालनमा ल्याउनु पर्ने माग उल्लेख भएका छन् ।
सो ज्ञापनपत्र बुझाउन एमालेका गाउँपालिका अध्यक्ष रामखेलावन महतो, मओवादीका पालिका अध्यक्ष पदम लामा, एकीकृत समाजवादीका पालिका अध्यक्ष रामअशिष महतो, जनमतका अध्यक्ष रामपरीक्षण महतो, राप्रपा अध्यक्ष बृजलाल महतोलगायतको उपस्थितिमा गाउँपालिका कार्यालय पुगेका थिए । तर, पालिका अध्यक्ष रामअशिष महतो अनुपस्थित हुँदा पाँच दलले पालिका उपाध्यक्ष सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । पाँच दलले गत मंगलबार बुझाएको ज्ञापनपत्र तत्काल सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।









तपाईको प्रतिक्रिया