वीरगञ्ज । निर्माण पूरा नहुँदै नेपाल सरकारलाई हस्तान्तरण गरिएको हुलाकी सडकखण्डमा धाँजा फाटेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण हुलाकी सडक खण्डमा धाँजा फाटेको हो । निर्माण कम्पनीले छिटो सम्पन्न गर्ने बहानामा हतारमा कमसल काम गरेको आरोप स्थानीयले लगाएका छन् ।
हुलाकी सडकअन्तर्गत पर्साको चमरीहोलदेखि–ठोरीखण्डमा पर्ने ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा बाटो चिरा परेको हो । पुल नजिकै एकातर्फको भाग चिरा परेर भासिन लागेको स्थानीयले जानकारी दिए ।
झण्डै १५ मिटरसम्म धाँजा फाटेको उनको भनाइ छ । हुलाकी सडकको दोस्रो प्याकेज अन्तर्गत ३० किमि लामो खण्ड निर्माणको ठेक्का बानियाँ/कालिका जेभीले पाएको थियो । २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको काम २०७७ जेठ २ सम्म काम सक्नुपर्ने थियो । लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिना म्याद थपिएको थियो । त्यस अवधिमा पनि ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै सडक हस्तान्तरण गरिएपछि स्थानीयले विरोध गरेका थिए ।
मुआब्जा विवादमा अदालतको स्टे–अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिएको र स्थानीयको अवरोधका कारण काम गर्न नसकेको ठेकेदार कम्पनीले बताउँदै आएको छ । ठुटे खोलामा नेपाल र भारतबीचको कुलोका विषयमा विवाद समाधान हुन सकेको छैन ।









तपाईको प्रतिक्रिया