अत्तरिया, १२ असार । कैलालीको अत्तरियाका सामाजिक अभियान्ता भोज साउँदले आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । गोदावरी नगरपालिका वडा नं.२ मा रहेको रिङ्गरोड गुरुखोला नाली निर्माणमा एकलौटी ढंगले मेयरको भाइले दम्भ दिएर खेतबारीमा योजना हालेको भन्दै आफ्नो चरित्र हत्या गर्ने काम भएको बताएका छन् ।
शुक्रबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष साउँदले केही मिडियाले आफूलाई सोध्दै नसोधी केही व्यक्तिको उक्साहटमा लागेर समाचार बनाउँदा आफ्नो चरित्र हत्या भएको बताए । चालु आर्थिक वर्षको बजेट अन्तरर्गत सहरी विकास आयोजना कार्यालय धनगढीबाट १ सय २५ मिटर रिङ्गरोड गेरुपानी सडकमा नाली निर्माण गर्नका लागि २० लाख बजेट विनियोजन भएको उनले बताए । उनले सुरुमा छनोट गरिएको क्षेत्रमा विवाद भएपछि सोहि रिङ्गरोडमा जोडिने अर्को छेउबाट नाली निर्माण गरिएको बताए ।
‘जुन ठाउँमा नाली निर्माण गर्नुपर्ने हो त्यो ठाउँमा सहरी विकासको नक्सा अनुसार बाटो खाली गर्न नसकिएपछि स्थानीयले नै बजेट फ्रिज नगरौं भने’ उनले भने ‘त्यसपछि हामीले टोलको लागि आएको नालीको बजेट कसरी कार्यान्वयन गर्ने भन्ने छलफल गर्दा सोही सडकमा जोडिने अर्को छेउको सडकमा काम सुरु गर्ने सहमति भएको हो ।’ उनले सहमतिमै सबै काम भएपनि केही सञ्चार माध्यमले भोज साउँदले एकलौटी ढंगले नाली आफ्नो निजी जग्गामा बनाएको भन्ने आरोप गलत भएको बताए ।
‘पुरानो ठाउँमा सहमति नभएपछि रिङ्गरोड गेरुपानी बाटोमै पर्ने नेपाल सरकारको कित्ताकाट भएको २० फुट बाटोमा योजना सारिएको हो’ उनले भने ‘त्यो मेरो व्यक्तिगत जग्गा र बाटो होइन ।’ वडा नम्बर २ ले भवन निर्माणमा अवरोध गरिरहेको निरङ्कारी भवनको कम्पाउण्ड बनाइदिने भनेपछि सहमति भएर अवरोध हटेको बताए । उनले बाटोको विषयमा नगरपालिकाका मेयरको नाम मुछिनु गलत भएको बताए ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै एकान्तकुना टोल सुधार समितिका अध्यक्ष एवम् उपभोक्ता समितिका अनुगमन संयोजक लाल बहादुर विकले योजना ल्याउने बेला सबैले सहमति जनाए पनि पछि अवरोध गरिएको बताए । ‘सबैले सहमति जनाएपनि हामीले अमिन ल्यायौं । १६ फुट बाटोलाई २० फुट बनाउन सबै सहमत भएपनि पछि सो सडकमा पर्ने निरङ्कारी भवनले अवरोध ग¥यो अनि बाटो निर्माणको काम रोकियो’ उनले भने ‘लामो समयको प्रयास पछि पनि बाटो बनाउन दिन निरङ्कारी भवनका प्रतिनिधिले सहमति नजनाएपछि अन्त्यमा आएर हामीले सो सडकमै पर्ने अर्को क्षेत्रमा सबैको सहमतिमा नाली सारेका हौ ।’
उनले सहमति नभएर बजेट फ्रिज जाने अवस्था आएपछि समितिको निर्णय र सहरी विकासको सहमतिमा बाटो सोही सडकको अर्को ठाउँमा सारिएको बताए । ‘हामीले कुनै गल्ति गरेका छैनौ । फ्रिज भईरहेको बजेट बचाउन खोजेका हौ । हामीले एकान्तकुनाकै विकासका लागि सो रकम खर्च गरेका हौ’ उनले भने ‘सहरी विकास संग भएको सम्झौता अनुसारको रिङ्गरोड गेरेपानी सडक शिर्षक अन्तरगत नै रहेर सोही रिङ्गरोड संग जोडिने बाटोमा काम सुरु गरिएको हो ।’









तपाईको प्रतिक्रिया