धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेका छन् । अनैतिक सम्बन्धको आशंकामा मिथिला बिहारी नगरपालिका ५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफनै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् ।
दुबैजनाको शव घर नजिक झाडीमा खाल्डो खनेर गाडेको अवस्थमा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजविन भएपछि शव गाडेको शंकास्पद ठाउँ देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना लगतै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर उत्खनन सुरु गरेको थियो । शव निकालेर प्रहरीले अहिले घटनास्थलको मुचुल्का गरेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ ।
मृतक दुबैजनाको टाउकोमा गहिरो चोट देखिएकाले भाटा प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । राति नै हत्या गरेर शव गाडेको शंका छ । स्थानीयका अनुसार भागेश्वर एकवर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्। घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए। जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो।
सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ। भागेश्वर र अम्रिकादेवीका दुई छोराछोरी छन् ।
news/photo:todaypati.com









तपाईको प्रतिक्रिया