आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
दिवस भव्य रूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । सरकारले सीमा नाका खोल्ने र क्वारेनटिनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दा पर्यटन गन्तव्यका रूपमा विश्वसामु थप स्थापित गर्नु पर्ने बताउनु भएको छ । ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना दिनुहुदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भएको छ ।
विभिन्न ११ राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख एकैसाथ पर्यटकीय नगर पोखरा पुगेका छन् । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख आइतबार पोखरा पुगेका हुन् ।
राजदूतसहितको टोलीको सम्मानमा आइतबार साँझ गण्डकी प्रदेश सरकारतर्फबाट रात्रिभोज आयोजना गरिएको थियो । आज कूटनीतिज्ञले पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दुरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ । आज नै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा उनीहरु सहभागी हुने कार्यक्रम छ ।









तपाईको प्रतिक्रिया