प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार) विश्वासको मत लिँर्ख छन् । उनले आज दिउँसो १२ः३० मा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।
उनले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबारको प्रदेश सभा बैठकमा पेश गरिसकेका छन् । प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ ।
संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उनले प्रस्ताव पेस गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन् । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।
कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।
सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।









तपाईको प्रतिक्रिया