काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको दावी पेश गरेका छन् ।
बुधबार साँझ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा ५९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित सांसद पाण्डेले सो पदका लागि दावी गरेका हुन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि उनलाई मुख्यमन्त्री बन्ने सहज बाटो खुलेको हो ।
शाक्यले राजीनामा बुझाएपछि प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गर्न आह्वान गरेका थिए । पाण्डेलाई बिहीबार दिउँसोसम्म मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनियताको सपथ खुवाउने प्रदेश प्रमुखको तयारी छ ।
गत भदौ २५ गते नेकपा एमाले विभाजनपछि भदौ २७ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध १३ जना प्रदेशसभा सदस्यले शाक्यलाई दिएको समर्थन फिर्ता लिएको थियो। शाक्यले गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन् ।









तपाईको प्रतिक्रिया