काठमाडौं । सिन्धुलीको गोलन्जोर गाँउपालिका– ४ निवासी १७ बर्षिय डोरबहादुर खपाङी विश्वकै होचोमध्येका एकजना होचो व्यक्ति भएको दावी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीकाअनुसार खपाङीलाई नागरिकता प्रमाणपत्र दिनेक्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाइएको छ ।
खपाङीलाई उक्त कार्यालयले बुधबार बंशजको नागरिकता प्रदान गरेको छ । उनको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०६१ कात्तिक २९ गते उल्लेख छ ।
दाजुको सनाखत, वडा अध्यक्षको सिफारिस र उमेर खुलाइएको मेडिकल रिपोर्टका आधारमा खपाङीलाई नागरिकता प्रमाणपत्र जारी गरिएको कार्यालयले जनाएको छ ।
स्वास्थ्य परिक्षणकाक्रममा डोरबहादुरको स्वास्थ्य अवस्था ठीक रहेको प्रतिवेदन चिकित्सकले दिएका छन् । दाजु नरबहादुर खपाङ्गीकाअनुसार अहिले डोरबहादुर गाँउकै प्रावि ढुङ्ग्रेमा कक्षा १ मा अध्ययनरत छन् ।
सामान्य बोलचाल र हिड्डुल गर्ने सक्ने डोरबहादुर परिवारका चार दाजुभाइ र तीन दिदिबहिनीमध्ये सबैभन्दा कान्छा सन्तान भएको उनले बताए । बुवा टक्करबहादुर खपाङगी र आमा रणमाया खपाङगीको सन्तान हुन् । साभार गोरखापत्र दैनिक









तपाईको प्रतिक्रिया