बैतडी, माघ २३ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो। बैतडीको सिगास, ढोल्यामोड, खोडपे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्र लगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।
हिमपात भएपछि किसान खुसी भएका सिगासका लक्ष्मी शाह चन्दले बताइन्। वर्षा र हिमपात नहुँदा बालीनाली सुक्दै गएको थियो। उनले भनिन् ‘लामो समयपछि बर्षासंगै हिमपात भएको छ , किसान खुसी छन्।’
हिमपात र वर्षाले हिउँदे बाली र फलफूल सप्रिने भन्दै किसान खुसी भएका छन्। यसैबिच बाक्लो हिमपातका कारण राजमार्गसमेत अबरुद्ध भएका छन्। दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन ।
दशरथचन्द राजमार्गको अनारखोली जयपृथ्वी राजमार्गको ढोल्यामोड क्षेत्रमा बाक्लो हिउँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो। अबरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
तपाईको प्रतिक्रिया