काठमाण्डौ, माघ २३ । नेपालमा कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४ सय ८७ जनाले लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट एक लाख ५८ हजार ४सय ८७ जनाले खोप लगाएको बताए। उनकाअनुसार प्रदेश– १ मा २१ हजार ७ सय ५४, प्रदेश–२ मा २१ हजार १ सय ८५, बागमती प्रदेशमा ५५ हजार ५ सय ४, गण्डकी प्रदेशमा १७ हजार २ सय ६७, लुम्बिनी प्रदेशमा २३ हजार ७ सय ९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाएका छन्।
मन्त्रालयले पहिलो चरणको खोप अभियान यहि माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।
यहि माघ १४ गतेदेखि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप लगाउन थालिएको हो। रासस
तपाईको प्रतिक्रिया