काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न निर्देशन दिएका छन् । नेपाल टेलिकमको स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री गुरुङले दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाइ र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव पनि दिए ।
उनले समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीहरूका सम्बन्धमा वार्षिकोत्सवका अवसरमा समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने औँल्याए । कम्पनीको दीर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन रणनीतिक व्यवस्थापन साझेदारको व्यवस्था गर्नुपर्ने बताए ।
प्रविधिको विकास अनुसार जीएसएम फाइभजी सेवाको विस्तारका लागि हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्न सुझाव दिए । त्यस्तै, मन्त्री गुरुङ तथा कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया