काठमाडौं : हिमाली जिल्लामा हिमपात र वर्षा भएको छ । हिमपात र वर्षा भएपछि किसानहरु खुशी भएका छन् ।
हिजो (शुक्रबार) मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ ।
स्थानीयहरु घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने छन् । हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ ।
हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले जानकारी दिएका छन् । हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन् । लामो समय पानी नपर्दा निराश भएका किसान अहिले खुशी भएका छन् ।
मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने र हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम, हुम्ला, जुम्लालगायतको ठाउँमा हिमपात भएको छ ।
प्रकाशित :माघ २४, २०७७
तपाईको प्रतिक्रिया