काठमाडौ, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल समूह)ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या सम्बन्धमा सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले शनिबार शोक वक्तव्य जारी गर्दै विगतमा निर्मला पन्तको हत्याको अनुसन्धानमा जस्तो उक्त घटनामा गैरजिम्मेवार नबन्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ,’ वक्तव्यमा उल्लेख छ । उक्त घटनाबाट राज्य आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल देखिएको पुष्टि भएको उनीहरुको ठहर छ ।
वक्तव्य भनिएको छ, ‘निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।’ उक्त घटनाबाट आफूहरु मर्माहत भएको भन्दै उनीहरुले घटनाको भर्त्सना गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको घर नजिकैको जंगलमा शव भेटिएको थियो । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव जंगलमा फेला परेको थियो ।
तपाईको प्रतिक्रिया