काठमाडौं : तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन आज (शनिबार) ३ जिल्लामा सकिएको छ ।
प्रतियोगिताको पहिलो चरणमा आज चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज र मोरङको विराटनगरमा अडिसन सम्पन्न भएको हो ।
चितवन अडिसनबाट ७ जना प्रतियोगी छनिएका छन् । छनोट हुनेमा सोनु चौधरी, जस्मी चौधरी, जयराम खा चौधरी, अविनाश महतो, रविन चौधरी, निवेश चौधरी र पवित्रा कुमारी चौधरी रहेको वाइएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए ।
चितवन अडिसनमा २० जना युवायुवती सहभागि थिए । निर्णायकको रुपमा मिस इन्टरनेशनल २०१६ वर्षा लेखी, मिस नेपाल अर्थ २०१६ रोश्नी खत्री, पत्रकार तथा समाजसेवी कारी महतो, फोटोग्राफर तथा फिल्म मेकर निरज महतो रहेका थिए ।
आजै विराटनगरमा भएको अडिसनबाट ५ जना प्रतियोगी छनोट भए । आशकुमार चौधरी, अस्मिता चौधरी, त्रिसिना चौधरी, सुजता चौधरी र बियक्स चौधरी रहेको जह इन्टरटेनमेन्टका इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिएका छन् । अडिसनमा निर्णायकको भूमिकामा मिस थारु २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरी, थारु कलाकेन्द्रका अध्यक्ष तथा गायक देव कृष्ण विश्वास, कलाकार तथा निर्देशक प्रदीप कुमार चौधरी र गायिका गीता चौधरी रहेकी थिइन् ।
त्यस्तै, नेपालगञ्ज अडिसनबाट २ जना प्रतियोगी छनोट भएका छन् । छनोट हुनेमा सुस्मिता चौधरी र प्रेरणा चौधरी रहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए । अडिसनमा गायिका तथा कलाकार श्रीदेवी थारु, कलाकार सुनिता दहित, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरी, पत्रकार प्रज्वल कुमार श्रेष्ठ र व्यवसायी शिवाङगीनी राना रहेका थिए ।
प्रतियोगिताको दोस्रो चरणमा यही माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ ।
फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए । अडिसनपछि प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण हुने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए ।
प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुने छ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।
पहिलो र दोस्रो संस्करणको सफलतापश्चात आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएका थिए भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएका थिए ।
प्रकाशित :माघ २४, २०७७
तपाईको प्रतिक्रिया