काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह गरेका हुन् । मन्त्री गुरुङले भने,‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछु, सरोकारवाला निकायले दिएको सुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुझाव दिन आग्रह गरे ।
उनले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुझावको अपेक्षा गरेको स्पष्ट पारे । सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको मन्त्री गुरुङको भनाइ छ ।
प्रकाशित :२५ माघ, २०७७
तपाईको प्रतिक्रिया