काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकामाथि रोमाञ्चक जित निकाल्दा विभागीय टोली नेपाल पुलिस क्लब स्याङ्जा नगरपालिकासँग पराजित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको आजको पहिलो खेलमा चन्द्रपुरले विराटनगरलाई १-० ले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७० औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता गरेको हो । पहिलो चरणको खेलमा ५-० ले नतिजा सुम्पिएको चन्द्रपुरले जितसँगै बदला लिएको छ ।
दोस्रो जित निकालेको चन्द्रपुरको ७ खेलबाट ६ अंक भएको छ । चन्द्रपुर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । लिग अन्तर्गत आजको दोस्रो खेलमा रुथो मेथुले ५८ औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिस वालिङसँग स्तब्ध भएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुआतबाट दबाब दिँदै खेले पनि जित निकाल्न सकेन । जितसँगै वालिङले जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।
पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो । यस अघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङसँग १-१ को बराबरी खेलेको थियो । लिगमा सोमबार एक खेल मात्र हुनेछ । अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग भने प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित :२५ माघ, २०७७
तपाईको प्रतिक्रिया