काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो ।
विभागका निर्देशक डा. लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।
‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि-ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालले भने ।
भुसालका अनुसार विभागबाट सञ्चालमा रहेको इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र सवारी दर्ता प्रक्रियासमेत अद्यावधि गरिएको छ ।
तपाईको प्रतिक्रिया