टुडेएनपी
जनकपुरधाम, माघ १६ गते ।
नेपाली कांग्रेसले मधेशलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण र राजनीतिक पुनःसंरचनाको अभियान अघि बढाउने संकेत गरेको छ। जनकपुरधाममा शुक्रबार आयोजित कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकमा पार्टी सभापति गगनकुमार थापाले आगामी दिनमा कांग्रेसले योजनाबद्ध रूपमा तीन तहमा काम गर्ने स्पष्ट कार्यदिशा प्रस्तुत गर्नुभयो।
सभापति थापाका अनुसार पार्टीले राष्ट्रिय स्तरमा दीर्घकालीन सोच र नीति निर्माण गर्दै अघि बढ्नेछ भने मधेशका विशिष्ट राजनीतिक, सामाजिक र विकासका मुद्दाहरूलाई छुट्टै प्राथमिकताका साथ सम्बोधन गरिनेछ। त्यससँगै स्थानीय तहमा जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै सभा–जुलुसभन्दा बढी घर–घर पुग्ने रणनीति अवलम्बन गरिने उहाँले बताउनुभयो।
उहाँले वर्तमान राजनीतिक अवस्थालाई संकेत गर्दै देशलाई सही दिशा दिन सक्ने नेतृत्वको आवश्यकता औंल्याउनुभयो र त्यसको जिम्मेवारी कांग्रेसले लिने दाबी गर्नुभयो। पार्टीभित्र अनुशासन र एकता बलियो बनाउने उद्देश्यले अनुशासन समिति गठन गरी नियमित निगरानी गरिने जानकारी पनि उहाँले दिनुभयो।
सभापति थापाले नयाँ पुस्ताका साथै पार्टीबाट केही समय टाढा रहेका नेता–कार्यकर्तालाई समेत एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा उहाँले धनुषा निर्वाचन क्षेत्र नं। ४ का कांग्रेस कार्यकर्तासँग भेटघाट गर्दै संगठनको अवस्था, चुनौती र सम्भावनाबारे प्रत्यक्ष संवाद गर्नुभएको थियो। बैठकमा मधेश प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा समेत विचार–विमर्श गरिएको थियो।
बैठकमा आगामी फागुन ७ गते आयोजना हुने मधेश सभाको तयारी, व्यवस्थापन र समन्वयका विषयमा विस्तृत छलफल गरिएको कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ।
कार्यक्रममा कांग्रेस मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, आठै जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, उम्मेदवारलगायतको उपस्थिति रहेको थियो।








तपाईको प्रतिक्रिया