काठमाडौं : इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ ।
उपाधि होडमा निकै महत्वपूर्ण मानिएको यो खेलमा म्यान सिटी ४-१ को फराकिलो गोल अन्तरमा विजयी भयो । लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगानले दुई गोल गर्दा ग्याब्रियल जिसस र फिल फोडेनले एक एक गोल थपे ।
पराजित टोली लिभरपुलका मोहोमद सालाहले पेनाल्टीमार्फत एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले शेफिल्ड युनाईटेडलाई २-१ ले हरायो । नयाँ प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा चेल्सीलाई लगातार दोस्रोे जित दिलाउन मेसन माउन्ट र जर्गीनोले एक एक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ब्रोमलाई २-० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्स र लेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । गएरातिका खेलपछि प्रिमियर लिगको तालिकामा २२ खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।
एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ४५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ४३ अंक छ । ४० अंकसहित लिभरपुल चौथो स्थानमा छ भने पाँर्चौ स्थानको चेल्सीको ३९ अंक भएको छ । एजेन्सी
प्रकाशित :२६ माघ, २०७७
तपाईको प्रतिक्रिया