काठमाडौं, फागुन ४ । काठमाडौं जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको छ।
न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन्। नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो। अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको हो।
अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको बताए। दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन्। सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ। उनले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिएका छन। हामी अनुसन्धानका क्रममा छौँ। अनुसन्धान अनुसार दोषीलाई कारबाही हुन्छ।’
१४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो। सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो।
निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ। मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए।
नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राखेका थिए। सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो। घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइ रहेको छ।
तपाईको प्रतिक्रिया