काठमाडौं : वैदेशिक रोजगारीमा क्रममा विभिन्न कारणले निधन भएकामध्ये १७३ श्रमिकको सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ ।
कोरोना महामारीका कारण नेपाल ल्याउन कठिन भएपछि सम्बन्धित मुलुकमा दाहसंस्कार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । चालू आवको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै श्रममन्त्री गौरीशंकर चौधरीले ४ सय २५ श्रमिकको शव घर–ठेगानामा पुर्याइएको बताएका छन् ।
यसको लागि वैदेशिक रोजगार बोर्डले ८६ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई बोर्डले ४८ करोड ४९ लाख वितरण गरेको छ । अशक्त र अंगभंग भएका श्रमिकलाई २ करोड ७ लाख वितरण गरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बेखर्ची भई विभिन्न मुलुकमा अलपत्र भएका श्रमिकको निः शुल्क उद्धारका लागि १ करोड ४५ लाख रकम पेस्की पठाएको छ । मलेसिया, कतार, साउदी अरब, युएई, बहराइनलगायतका मुलुकहरूबाट पेस्कीको माग भएको थियो । उक्त रकमबाट १ सय ८७ जना कामदारको उद्धार गरिएको छ । ३९ जनाको उद्धार गर्न वैदेशिक रोजगार बोर्ड र सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासबीच सहकार्य भइरहेको छ ।
त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ । चालू आवको अर्धवार्षिक अवधिसम्ममा सो रकम जम्मा भएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोषमा १३ हजार २ सय ८ प्रतिष्ठान आबद्ध भएका छन् । १ लाख ८९ हजार २ सय ३४ श्रमिक आबद्ध भएका छन् भने लाभग्राहीको संख्या ८८ हजार ३ सय ५६ पुगेको छ ।
कोषमा अनौपचारिक क्षेत्रमा रहेका किसान, श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने सम्बन्धमा अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित :५ फागुन, २०७७
तपाईको प्रतिक्रिया