मकवानपुर : बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बुधबार दिउँसो २ बजे बस्ने भनिएकोमा विशेष कारणले सभामुखले स्थगन गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहको आरोप छ । समूहले मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गर्दै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन जोड दिएको छ ।
प्रचण्ड-माधव पक्षले शाक्यलाई दलको नेतासमेत चयन गरिसकेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । तीमध्ये ४५ जना सांसदले हस्ताक्षर गरेकोमा ३ सांसदले फिर्ता लिएपछि प्रचण्ड-माधव पक्षमा ४२ सांसद रहेका छन् ।
ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन् । केही सांसद अझै स्पष्ट भएर लागेका छैनन् । अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । प्रचण्ड–माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या अपुग छ ।
प्रकाशित :५ फागुन, २०७७
तपाईको प्रतिक्रिया