काठमाडौं : प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको कटौतीसँगै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ ।
यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो । सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाहाललाई २ जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ । सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्वजनमुक्ति सेनाको टोली खटाइएको प्रचण्ड-नेपाल समूहका राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिएका छन् ।
उनले भने,‘हामीले युवा संघका साथीहरू खटाएका छौं। उहाँहरू सबै पूर्वजनमुक्ति सेनाका सदस्यहरू हो । उनीहरूले सुरक्षाका लागि सहजीकरण गर्ने मात्रै हो, प्रधानमन्त्रीले मितव्ययिताका लागि भन्दा पनि ‘बदला’ लिने नियतले सुरक्षा टोली कटौती गर्नुभएको हो । अब कसरी अघि बढ्ने भनेर हामी थप छलफल गर्दैछौं ।’ १० जनाको टोलीको गाडी प्रचण्डको गाडीभन्दा अघि हिँड्ने गरेको उनले बताए ।
यो टोलीसँग हातहतियार छैन । उनका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’को नेतृत्व खटिएको छ । शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि उनी शक्तिखोरस्थित तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा थिए ।
सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेका उनी वाइसीएलमा थिए । नेकपा गठन भएपछि उनी राष्ट्रिय युवा संघमा आवद्ध छन् । सुरक्षा स्रोतका अनुसार सशस्त्र प्रहरीले निरीक्षकसहित ४७ जना दाहालको सुरक्षामा खटाइएको थियो ।
गृह मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जना मात्र सुरक्षाकर्मी दिने उल्लेख छ ।
प्रकाशित :६ फागुन, २०७७
तपाईको प्रतिक्रिया