काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको बिहीबार (आज) बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक केही दिनका लागि स्थगित गरेका हुन्।
बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको फैसलाको सम्मान गर्ने निर्णय गरेको थियो। सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक आह्वान गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठक बस्ने, बैठकले राष्ट्रपतिलाई संसद बैठक आह्वानका लागि सिफारिस गर्ने लगायतका प्रक्रिया हुने भएकाले पार्टीको स्थायी कमिटी बैठक प्रधानमन्त्रीले केही दिनका लागि स्थगित गर्नुभएको नेता सुवास नेम्वाङले जानकारी दिए।
हिजोको स्थायी कमिटी बैठकले निर्णय गरेबमोजिम पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरु भने अनुकुल हुने गरी जारी राखिने नेम्वाङले बताए। ओली समूहको हिजोको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने, प्रतिनिधिसभा बैठक बोलाउने तथा पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई निरन्तरता दिनेलगायतका निर्णयहरु गरेको थियो।
तपाईको प्रतिक्रिया