काठमाडौं, फागुन २० । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार (आज) बस्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाइएकाले पार्टीको रणनीति कस्तो हुने भन्नेबारे छलफल गर्न बिहीबार बैठक डाकिएको हो। शर्माका अनुसार भोलि संसदीय दलको बैठक बस्ने भएकाले आज दिउँसो पदाधिकारी तथा पूर्व पदाधिकारीसँग छलफल गर्न लागिएको हो।
गत हप्ता बसेको कांग्रेस पदाधिकारी बैठकले नेपाल कम्युनिष्ट पार्टी नेकपा आधिकारिक रुपमा विभाजित नभएसम्म सरकार फेरबदलका विषयमा कुनै पनि समूहलाई सहयोग नगर्ने निर्णय गरेको थियो।
तर, हिजो सभापति शेरबहादुर देउवा तथा महामन्त्री डा. शशांक कोइरालाले विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेस सरकारमा जाने र जानुपर्ने धारणा राखेका थिए।
तपाईको प्रतिक्रिया