काठमाडौं, फागुन २० । सिंहको निधनमा शोक मनाउन देशभरका अदालत आज बन्द हुने भएका छन्। ​

पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको हो।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो। सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।