काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
बैठकमा आइतबार २३ गते सुरु हुने संसद अधिवेशनमा कांग्रेस कसरी प्रस्तुत हुनेलगायत समसामयिक विषयमा छलफल हुने संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्। यसअघि बिहीबार कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो। बैठकमा तत्काल सरकारमा जाने वा नेकपाको कुनै समूहलाई सहयोग गर्नेरनगर्नेबारे छलफल भए पनि कुनै निर्णय हुन सकेको थिएन।
संसदीय दलको आजको बैठकमा पनि सरकार फेरबदलको प्रक्रियामा कांग्रेस सहभागी हुनेरनहुने, भए कुन पक्षसँग मिलेर अघि बढ्नेलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। बुधबार बसेको नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने चर्चा भएको थियो। कांग्रेसले यसबारे संसदीय दलको बैठकबाट स्पष्ट धारणा बनाउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया