फागुन २२, काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि शुरु हुँदैछ ।
विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएको छ ।
कोरोना भाइरसका कारण यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय नचल्दा संघीय संसदमा विधेयकको चाप रहेको छ । संघीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् ।
दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् । दुवै सभामा र समितिमा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन रहेका छन् । विचाराधीन विधेयकमध्ये दर्ता भई वितरण गरिएका विधेयक १७ वटा छन् ।
दुवै सभाका समितिहरूमा १०–१० वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा सन्देशसहित पठाएका विधेयक संख्या दुई छ । सन्देश भने पेश हुन बाँकी रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया