फागुन २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको पानी पाएकोमा काठमाडौं बासीलाई बधाई दिएका छन् ।
उनले आयोजनाको पानी काठमाडौं पुग्दासम्म आफ्नो कपाल नै फुलिसकेको बताएका छन् । आज (शनिबार) मेलम्चीको पानी सुन्दरीजलमा आएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना शुरु हुँदा कालो कपाल अहिले सेतै भएको टिप्पणी गरे ।
‘मेलम्चीको कुरा हुँदा मेरो कपाल कालो थियो पूरा हुँदा कतै कपाल कालो रहेन,’ उनले भने । प्रधानमन्त्री ओलीले पार्टीकै मानिसहरुले काम गर्न नदिएको कुरा मेलम्चीको पानी सुन्दरीजल आएपछि पनि प्रमाणित भएको बताए । उनले भने, ‘पार्टीमा काम गर्न नदिने मानिसहरु थिए, फागुन १० गतेपछि मैले गरेको उद्घाटन र शिलान्यासको कुरालाई हेर्नुभयो भने पनि थाहा हुन्छ ।’
सरकारले लोकप्रिय काम गर्न थालेपछि आफ्नै पार्टीका साथीहरुले प्रधानमन्त्रीबाट हटाउन लागेको आरोप पनि लगाए । २३ सिट जितेको कांग्रेससँग प्रधानमन्त्री बन्दिनु पर्यो भनेर एक हल बुढानिलकण्ठतिर लागेको उनको भनाइ छ । कर्मचारी र जनतालाई विकास निर्माणका काममा ध्यान दिन आग्रह गर्दै आफूहरूले उनीहरूलाई तह लगाइ दिने चेतावनीसमेत दिए ।
आज प्रधानमन्त्री सुन्दरीजलमा मेलम्चीको पानी आउने भएपछि अवलोकनका लागि पुगेका थिए । उनले काम सम्पन्न भएकोमा खानेपानी मन्त्रालयको टीमलाई धन्यवाद दिँदै काठमाडौंवासीलाई बधाईसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया