फागुन २३, काठमाडौं । आजदेखि देशभर कोरोनाभाइरसविरुद्धको खोप अभियानको दोस्रो चरण शुरु हुँदै छ ।
यो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निः शुल्क खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
“खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ ।
यसको शुभारम्भ सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बिहान १० बजे खोप ग्रहण गरेर गर्दै हुनुहुन्छ, ” स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने । करिब १५ हजार स्वास्थ्यकर्मीले खोप सेवा दिनेछन् । पहिलो १० दिन ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइनेछ । ११औँ दिनदेखि ५५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिकलाई उपलब्धता र प्राथमिकताको आधारमा खोप दिने मन्त्री त्रिपाठीले जानकारी दिए ।
यस अभियानबाट ६५ वर्षमाथिको करिब १७ लाख ९१ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ । ५५ वर्षमाथिसहित गरेर करिब ३७ लाख जनसंख्या लाभान्वित हुने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई आज बिहान १० बजेबाट पायकपर्ने स्वास्थ्य संस्थामा गई खोप लगाउन अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया