काठमाडौं, २३ फागुन । नेकपामा जारी पार्टीको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले गृहकार्य सुरु गरेको छ।
पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहले पटकपटक दबाब दिएपछि आयोगले छलफल सुरु गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले आइतबार पनि आयोगका पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताका लागि नेकपाको प्रचण्ड–माधव समूहले पेश गरेको दस्तावेजको अध्ययन गर्ने जानकारी दिए।
छलफल भएपनि नेकपाको आधिकारिकता बिवाद आजै टुंगिने सम्भावना नरहेको उनको भनाइ छ। प्रचण्ड–माधव समूहले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै आधिकारिकताका दाबी गर्दै आएको छ। केही समयअघि निर्वाचन आयोगले नेकपालाई पहिलेकै अवस्थामा रहेको भन्दै आधिकारिकताका विषयमा विवाद नरहेको निर्णय गरेको थियो। तर उक्त निर्णयले प्रचण्ड–माधव समूह असन्तुष्ट बनेको थियो।
प्रचण्ड–माधव समूहले आफूहरुले पार्टीमा गरेको नियुक्ति तथा कारबाहीलाई आयोगले नजरअन्दाज गरेको भन्दै आधिकारिकताका लागि बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा निवेदन दिएको थियो।
तपाईको प्रतिक्रिया